रोनाल्डो युभेन्टस जाने लगभग पक्का

म्याड्रिड,/  रियल म्याड्रिड तथा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो इटालियन क्लब युभेन्टस जाने हल्ला चर्किएको  छ ।

इटाली तथा स्पेनिस स्पोर्ट्स पत्रिकामा सो खबर हेडलाइनकै रुपमा पनि आएको हो । इएसपिएनका अनुसार युभेन्टसले रियलसामु प्रस्ताव पनि राखिसकेको छ तर रोनाल्डो आफैले भने आधिकारिक रुपमा सो निर्णय लिइसकेका छन् ।  स्पेनिस पत्रिका मार्साले रियल म्याड्रिड १०० मिलियनमा रोनाल्डोलाई बेच्न तयार भएको छापे पनि केही छिनमा सो खबरलाई सम्पादन गरेको थियो । युभेन्टसलाई टुटोस्पोर्ट्सले ट्विटरमार्फत खबरको सत्यता सोध्दा क्लबले केही भने बोलेको छैन ।

१ सय मिलियनमा रियल म्याड्रिड नमाने १ सय २० मिलियन खर्चिन युभेन्टस तयार रहेको जनाइएको छ । रियल म्याड्रिडले सो प्रस्ताव अहिले सोच्दै गरेको विभिन्न श्रोतहरुले जनाएका छन् । रोनाल्डो युभेन्टसमा सरुवा भए ३० मिलियन वार्षिक कमाउंदै उनी विश्व खेलकुदकै सबैभन्दा बढी कमाउने खेलाडी बन्नेछन् । युभेन्टसले अघिल्लो साता रोनाल्डोको एजेन्टलाई पनि भेटेका थिए ।

च्याम्पियन्स लिगको उपाधि जितेपछि रोनाल्डो आफू रियल म्याड्रिडमा रहनेमा अनिश्चितता प्रकट गरेका थिए । जुनमा इएसपिएनले रोनाल्डोले रियल छाडे इंग्ल्यान्ड, स्पेन वा इटालीमा सरुवा हुनु उनी इच्छुक रहेका बताएको थियो । विश्वकप ४ खेलमा रोनाल्डो ४ गोल गर्न सफल भएका हुन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस्