फसेका बालकको स्वास्थ्य खतरामुक्त – थाइल्याण्ड

बैंकक / थाइल्याण्डमा बाढीका कारण एउटा गुफाभित्र फसेका १२ जना किशोर र उनीहरूका फुटबल प्रशिक्षकको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अधिकारीहरुले जनाएका छन् ।

यहाँको गृह मन्त्रालयले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा ती बालकलाई पहिलो पटक स्पष्टसँग टेलिभिजनमा देखिएको र उनीहरुलाई खानेकुरा पनि पु¥याइएको जानकारी दिएको छ । उनीहरुको उद्धारको कार्य जारी रहेको तर निकै जोखिम रहेको भन्दै सकुशल उद्धारका लागि आवश्यक साधन र जनशक्ति उपलब्ध गराइएको विज्ञप्तिमा जनाइएको छ । सो गुफा हेर्न पुगेका एक विद्यालयका १२ जना विद्यार्थी र उनीहरूका प्रशिक्षक गएको दश दिनदेखि सोही गुफामा हराइरहेका थिए । उनीहरुलाई फुटबल प्रशिक्षकले नै भ्रमणका लागि सो गुफामा लगेका थिए ।

विदेशबाट कुशल गोताखोर, उद्धार कार्यमा खट्ने व्यक्ति र विशेषज्ञहरु झिकाएर काम गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् । थाई सेनाका अधिकारीहरुले पनि यसका लागि तालीम लिइरहेका छन् । सो गुफामा फसेका स्कुले बालकहरू र तिनका फुटबल प्रशिक्षकले १० दिनपछि पहिलो पटक तातो खानेकुरा र औषधि पाएको समाचारमा जनाइएको छ । गुफाभित्र उनीहरूलाई खाना र औषधि पु¥याउन एकजना चिकित्सक र नर्ससहित सातजना गोताखोर गुफाको भित्री भाग उनीहरु फसेको ठाउँसम्म पुगेका थिए ।

उनीहरू हराएको नौ दिनपछि हिजो जीवितै फेला परेको सूचना सार्वजनिक भएको थियो । “आजको सूचना पनि सकारात्मक नै छ र उनीहरुको स्वास्थ्य अवस्था पनि राम्रो छ, उनीहरुलाई कुनै स्वास्थ्य जटिलता छैन,” एक अधिकारीले भने । उनीहरूलाई कसरी सुरक्षित फिर्ता ल्याउने भन्ने विषयमा उद्धारकर्ताहरूले आफ्नो ध्यान केन्द्रित गरिरहेको बताएका छन् । ‘शून्य जोखिम’ को रणनीतिबाट उनीहरुलाई बचाइने पनि उनीहरुले बताएका छन् । त्यस क्षेत्रमा थप वर्षा भएमा पानीको भेल अझै बढ्ने र उनीहरूले आश्रय लिएको गुफाको हावा भरिएको भागमा जोखिम बढ्नसक्ने चिन्ता पनि व्यक्त गरिएको छ ।

ती बालकहरु जीवितै रहेको खबरले देशभरी खुशीयाली छाएको छ । उनीहरुका आमाबुबा र आफन्तले गुफा नजिकैको क्षेत्रमा प्रार्थना र आजापूजा गरिरहेका बताइएको छ । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस्